Viral Entertainment From All Over

नेयमार बने ब्राजिलको स्थायी कप्तान

रियो (एजेन्सी) । पेरिस सेन्ट जर्मेनका स्टार फरवार्ड नेयमार ब्राजिलियन राष्ट्रिय फुटबल टोलीका स्थायी कप्तान घोषित भएका छन् । प्रशिक्षक टिटेले बिहीबार औपचारिक घोषणा गर्दै नेयमारलाई कप्तानको जिम्मेवारी सुम्पिएका हुन् ।

यसअघि टिटेले हरेक खेलमा नयाँ कप्तान छानेर सबै सिनियर खेलाडीलाई पालैपालो कप्तान बनाउने गरेका थिए । यसक्रममा विश्वकपदौरान ब्राजिलका लागि थियागो सिल्भा, मिरान्डा र मार्सेलोले पनि कप्तानको भूमिका निर्वाह गरेका थिए । शुक्रबार संयुक्त राज्य अमेरिकाविरुद्ध हुने खेलबाट भने २६ वर्षीय नेयमार कप्तान हुने उनले बताए ।

रुस विश्वकपमा मैदानभित्र र बाहिर नै बिर्सनलायक प्रदर्शन गरेका नेयमार त्यसलाई बिर्साएर अगाडी बढ्ने सुरमा छन् । प्रशिक्षक टिटेले नेयमारलाई जिम्मेवारी प्रदान गरेपछि उनले व्यक्तिगत रुपमा र टोलीलाई पनि नयाँ चुनौती पार गर्न फाइदा हुने बताएका छन् ।

‘मैले प्रशिक्षकले कप्तान बन्न गरेको प्रस्तावलाई सहर्ष स्वीकार गरें । कप्तान बनेपछि मैले धेरै कुरा सिक्ने मौका पाएँ र अझै सिक्ने विश्वास लिएको छु,’ नेयमारले भने, ‘ जिम्मेवारी थपिँदा मेरो खेलमा पनि सुधार आउने अपेक्षा गरेको छु । टोलीमा मेरो भूमिका अझै धेरै भएको महसुस भएको छ । ज जस्तो भएपनि राम्रो फुटबल खेल्नु हाम्रो पहिलो प्राथमिकता हुनेछ ।’

विश्वकपको क्वाटरफाइनलमा बेल्जियमसँग पराजित भएकोमा भने उनले माफी मागे । ‘हामीले सोचेभन्दा धेरै अगाडी विश्वकप यात्राबाट बिदा लिनु पर्यो । म समर्थकहरुसँग माफी माग्न चाहन्छु । हामीलाई विश्वास थियो कि हामीले नै उपाधि जित्छौं, तर त्यसमा हामी सफल भयौं,’ उनले भने ।

ब्राजिलले यस पटकको अन्तर्राष्ट्रिय ब्रेकमा दुई मैत्रीपूर्ण खेल खेल्दैछ । शुक्रबार हुने खेलमा ब्राजिल र संयुक्त राज्य अमेरिका भिड्ने छन् । त्यसपछि ब्राजिलले एल साल्भाडोरको सामना गर्नेछ । एभरटनका रिचार्लिसनले यसै पटक राष्ट्रिय टोलीबाट डेब्यु गर्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *