Viral Entertainment From All Over

‘मलाई हटाउँदै हुनुहुन्छ हो ?’ गृहमन्त्री बादलको प्रश्नमा प्रधानमन्त्री र प्रचण्डले यस्तो दिए जवाफ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को हाईकमाण्ड बैठकमा सरकारका मन्त्रीहरुको हेरफेरबारे छलफल भएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले यसबारे कुरा उठाएका हुन् ।

सामाजिक सञ्जालमा गृहमन्त्री बादलसहित अन्य मन्त्रीहरुलाई हटाउने विषयमा व्यापक चर्चा भइरहेको भन्दै बादलले त्यसबारे वास्तविकता प्रष्ट पारिदिनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका थिए ।

बैठकमा सहभागी एकजना हेडक्वार्टर सदस्यले बादलको भनाई उदृत गर्दै भने, ‘मलाई हटाउँदै हुनुहुन्छ हो ?’ गृहमन्त्री बादलको प्रश्न थियो, ‘हटाउँदै हुनुहुन्छ भने जानकारी गराउनुभए हुन्छ, होइन भने यो हल्ला कसरी चलिरहेको छ ? प्रधानमन्त्रीज्यु र अध्यक्ष कमरेड प्रचण्डबाट जवाफको अपेक्षा छ ।’

बादल त्यतिकैमा रोकेनन्, उनले फेरि भने, ‘कुनै पनि मन्त्रीलाई हटाउनुको कारण हुन्छ, हटाउँदै हुनुहुन्छ भने किन र के कारणले हटाउँदै हुनुहुन्छ, वास्तविकता बताइदिनुपर्यो ।’

बादलको प्रश्नपछि प्रधानमन्त्री उनीतिर फर्केर मसक्क मस्के र प्रचण्डतिर फर्केर हाँसे । यतिबेलासम्म बादल चुप थिए, प्रतिसंकेतमा प्रचण्ड मस्किरहेका थिए ।

प्रधानमन्त्रीलले जवाफका क्रममा भने, ‘यस्तो हल्ला चलाउने को रहेछ, तपाईले पनि सुन्नु भएछ, तपाईलाई कसले भन्यो । यो सबै कुरा हावा हो । हावा कुराको पछाडि नलाग्नुस् ।’

यतिकैमा अध्यक्ष प्रचण्डले भने, ‘यही विषयमा केपीजी र मेरो पनि कुराकानी भइसकेको छ । काम नगर्नेलाई हटाउनुपर्छ भन्नेमा हामी दृढ छौँ, तर अहिले कसैले हटाउने विषयमा छलफल भएको छैन ।’

प्रचण्डले अहिले कसैलाई हटाउन आवश्यक नरहेकाले कसैले नहटाउने आश्वसन समेत दिए । ‘हामी हल्लाको पछाडि नलागौँ’, प्रचण्डले भनेका थिए, ‘बरु कसरी राम्रो काम गर्न सकिन्छ भन्नेतिर ध्यान दिऔँ ।’

रक्षामन्त्री ईश्वर पोखरेलले पनि अनावश्यक हल्लाह फैलिरहेकाले कोबाट हल्ला फैलिएको हो भन्नेबारेमा अनुसन्धान आवश्यक रहेको औल्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *