Viral Entertainment From All Over

संघर्षमै हुर्किएकी प्रहरी निरिक्षक फुलमाया घिसिङ

फुलमाया घिसिङ २०६८ साल असार ३१ गतेसम्म शिक्षिकाको भूमिकामा थिइन् । ०६३ सालदेखि शिक्षण पेशामा आबद्ध भएकी उनको शिक्षण यात्रा ०६८ असार ३२ गतेसम्म मात्रै जारी रह्यो । कारण, उनी प्रहरी सहायक निरीक्षकमा नाम निकाल्दै सिफारिस भएकी थिइन् । र, त्यसपछि फुलमाया शिक्षण पेशाबाट औपचारिक रुपमा राजीनामा दिँदै प्रहरी सेवामा हाजिर भइन् ।

२०४६ साल भदौ १५ गते बुबा गणेशमान घिसिङ र आमा मकुमायाको कोखबाट कान्छी छोरीको रुपमा खानीखोला गाउँपालिका वडा नं. ३ स्थित धनमना (साविक डाँडागाउँ–४) मा जन्मिएकी उनको जीवन संघर्षको छुट्टै कथा छ । काभ्रेको विकट बस्ती डाँडापारिबाट महिला पात्रको प्रतिनिधित्व गर्दै नेपाल प्रहरीमा प्रवेश गरेकी उनको उनी हाल नेपाल प्रहरीको निरिक्षक छिन् । कानुनमा स्नात्तक उतीर्ण गरेकी उनले शिक्षा संकायमा डिग्री गरेकी छिन् । हामीले उनको जीवनको यात्रा उतार्ने प्रयास गरेका छौँ ।

३ दिदीसँग एउटै कक्षामा
स्थानीय जनता प्राथमिक विद्यालयबाट प्राथमिक शिक्षाको सुरुवात गरेकी उनी ६ वर्षको उमेरमा विद्यालयमा भर्ना भएकी हुन् । २ दाजुभाई र ७ दिदीबहिनीकी कान्छी छोरीको रुपमा जन्मिएकी उनी ३ दिदीसँगै कक्षामा भर्ना भएकी हुन् । दिदीहरु लालमाया घिसिङ, हिरामाया घिसिङ र सुनमाया घिसिङसँगै विद्यालयमा सँगै भर्ना भइन् । उनी अक्षर नचिन्दै कक्षा २ मा भर्ना भएकी थिइन् । कारण, उनी एक्लैले पछि पढ्न नसक्ने बताउँदै दाइ दावा घिसिङले विद्यालयका प्रधानाध्यापकसँग आग्रह गरेर उनलाई दिदीहरुसँग २ कक्षामा भनाई गराइदिएका थिए ।
विद्यालय जाने बाटो उकालो ओरालो थियो । प्राथमिक शिक्षा हासिल गर्ने क्रममा उनलाई दिदी हिरा माया घिसिङले बोकेर बिद्यालयसम्म पु¥याउने र ल्याउने गरेको याद ताजै छ उनको मानसपटलमा । दिदीहरु लेख्न पढ्न जान्ने भए पनि उनले भने कक्षा ४ पुगेपछि मात्रै क, ख सिक्न थालिन् । उनलाई क, ख सिकाउने गुरु हुन्, भिम पुलामी र बाबुलाल योञ्जन । पुलामी सरले काखमा राखेर आफ्नै बच्चालाई जसरी सिकाएको आजैजस्तो लाग्छ उनलाई । कक्षा ४ र ५ उनले कालीदेवी प्रावि महाभारत २ मा अध्ययन गरेकी हुन् ।

बालविकासको यात्रा, पढाईमा उन्नती
त्यसपछि निम्न माध्यमिक तह अध्ययनका लागि कक्षा ६ मा उनी बालबाविकास निमावि फलामेटारमा भर्ना भइन् । आफ्नो दिदीहरुसँगै पढिरहेका उनलाई भर्ना गर्नुअघि कुन चाहिँ छोरीलाई निरन्तर पढाउने भन्ने विषयमा उनको घरमा सल्लाह भयो । परिवारले कान्छी छोरीलाई पढाउने भनेपछि उनी र दिदी सुनमाया बालविकास निमाविमा थप अध्ययन लागि गइन् । दिदी हिरामायाँ घिसिङ त्यसपछि घरमै घरधन्दा गर्न बसिन् । उनको आमाले फुलमाया र सुनमायालाई बालविकासमा भर्ना गराइदिइन् । बालविकासमा अध्ययन गर्दा उनी र दिदी नाताले फुपू पर्नेको घरमा बसिन् । आमालाई छाडेर त्यसअघिको कुनै रात बाहिर नबिताएकाले होला उनलाई कहिले घर जाने पाउँछु भन्ने चिन्ताले हरेक दिन सातायो ।

हरेक दिन आमाको सम्झनामा उनको दिनचर्या बितिरहेकै बेला १ महिनापछि आमाले उनी र दिदीलाई लिन आइन् । त्यसपछि उनी विद्यालय गइनन् । बुवा आमाले गाली गरे पनि उनी घरमै बसिन् । त्यो वर्ष उनको पढाई छुट्यो ।
बुवा आमाको निरन्तर गालीपछि १ वर्षलगत्तै उनी विद्यालय भर्ना भइन् । उनी दोहो¥याएर कक्षा ६ मा भर्ना हुँदा दिदी सुनमाया कक्षा ७ मा पुगिसकेकी थिइन् । दोहो¥याएर भर्ना भएपछि उनलाई मिहिनेतका साथ पढ्छु भन्ने लाग्यो । र उनी कक्षा ६ बाट तेस्रो हुँदै ७ कक्षामा प्रवेश गरिन् । त्यसपछि उनले पढाईमा निरन्तर मिहिनेत गरिन्, र ७ मा उनी दोस्रो भइन् ।

जनविकास पुगेपछि थप मिहिनेत
निमावि तहको अध्ययन सकेपछि उनी माध्यमिक तहको शिक्षा लिन जनविकास माध्यमिक विद्यालय पुगिन् । कक्षा ८ बाट ९ मा प्रवेश गर्दै गर्दा दोस्रो बनेकी उनले जीवनमा कहिल्यै दोस्रो नबनेका विदुर तिमिल्सिनालाई द्धितिय पार्दै प्रथम स्थान ओगटिन् । कक्षा १०मा पुग्दा उनले पढाईमा निकै सुधार गरिसकेकी थिइन् ।

प्रावि तह अध्ययनका क्रममा उनको कापी, किताब र झोला उनका दिदीहरुले बोकिदिने गरेकी थिइन् । जनविकासमा अध्ययन थालेपछि उनको दिनचर्या गाह्रो बन्दै गयो । जनविकास मावि उनको घरबाट झण्डै ५ घण्टा टाढाको दूरीमा पर्छ । विद्यालयसम्म जान निकै असहज र गाह्रो थियो उनको लागि । केही साता उनलाई बीच बाटोसम्म आमाले पु¥याइन् । तर हरेक साता पु¥याउन उनको आमाले भ्याउँदिनथिन् ।
उनको घर धनामनादेखि जुरेसम्मको बाटो कम्तिमा २ घण्टाको छ । उनी एक्लै हुँदा ४५ मिनेटमै उक्त बाटो काटेको याद छ उनलाई । घनाजंगलको बीचमा कुहिरोले ढाकेको त्यो बाटोमा हिडेको कयौँ दिनहरु आजजस्तै लाग्छ, उनलाई । शरीरमा जूकाले रगत चुसेर रगताम्य हुँदै कयौँ साता उनी विद्यालय गएकी छिन् । विद्यालय जान उनीसँग साथी नै हुँदैनथ्यो ।

मिहिनेतका साथ अध्ययन गरेकी उनले २०६२ सालमा प्रथम श्रेणीमा एसएलसी उतीर्ण गरिन् । उक्त वर्ष उनीसँगै साथी विदुर तिमिल्सिना मात्रै प्रथम श्रेणीमा उतीर्ण भएका हुन् ।

प्लाई कारखानामा जागिरे
एसएलसीको नतिजा आउनुपूर्वको दुई महिना उनले पनौतीस्थित एक प्लाई कारखानामा काम गरिन् । त्यही पैसाबाट हो, उनले कम्प्युटर सिकेकी । दिनको ६० रुपियाँको दरले काम गरेकी उनले त्यहाँबाट ३ हजार रुपियाँ लिइन् । जसमा १८ सयको कम्प्युटर सिकिन् र बाँकी आमालाई पठाइन् । चिठीसँगै उक्त पैसा पठाउँदै आमालाई उनले लेखेकी थिइन्, ‘आमा मैले काम गर्न थालेकी छु, मेरो कलेज अध्ययनको विषयमा चिन्ता गर्नुपर्दैन, अब म आफैँ कमाएर पढ्छु ।’ उनलाई आफैँले कमाएर पढ्नुपर्छ भन्ने सानैदेखि लागेको थियो ।

अनि शिक्षण पेशामा
एसएलसी परिक्षाको नतिजा आएपछि भने उनले प्लाई कारखानाको जागिर छाडिन् । पढाई बिग्रिन्छ भन्दै जागिर छाडेकी उनले कक्षा ११ मा अध्ययनका लागि इन्द्रेश्वर कलेजमा भर्ना गरिन् । कलेजमा उनले १ महिना पढिन् । त्यसपछि उनको दाई दावाले गाउँको कालीदेवी निमाविमा शिक्षक चाहिएको खबर दिए । तर उनलाई दाईले खबर गरुन्जेलसम्म जागिर खान जानुपर्छ भन्ने लागेको थिएन । तर अकस्मात रुपमा हजुरबुबाले नातिनीले जागिर खाएको हेर्ने धोको भएको खबर पठाएपछि उनी जागिर खाना गाउँ जानैपर्ने बाध्यता आइपर्यो ।

२०६३ मा नीजि स्रोतमा १८ सय तलबसहित उनले शिक्षण पेशाको सुरुवात गरिन् । शिक्षण पेशामा आबद्ध हुँदै गर्दा उनले तीनपटक खरिदार र २ पटक नासु परिक्षा दिइन् । घरायसी काम र शिक्षण पेशाको बीचमा उनले लोकसेवा परिक्षा दिए पनि सफल भने भएन ।

जब फुलमायाले हलो जोतिन्
एउटा दाई विदेशमा अनि अर्को दाइ रोजगारीको सिलसिलामा सहर थिए । घरमा छोरा मान्छे नहुँदा ६५ वर्षका बुवाले काम्दै हलो जोत्न बाध्य थिए । ‘बुवालाई गोरुले समेत नपत्याउने अवस्था थियो, उहाँले काम्दै हलो जोतेको मैले हेर्न सकिन, अनि मैले हलो जोत्न सुरु गर्नुपर्ने बाध्यता आयो’ भावुक हुँदै उनले भनिन् । ‘सामाजिक अनि धार्मिक संकट आउँछ, तिमीले यो राम्रो काम गरेनौँ, तिम्रो जीवनमा राम्रो हुँदैन, यो समाजलाई तिमीले धेरै ठूलो दुर्घटनामा फसाउने भयौँ’ हलो जोतेपछि उनको घरमै आएर समाजका सबैजनाले भनेको यो कुरा सम्झिँदै उनले ती दिनलाई सम्झिए । व्यक्तिगत रुपमा पनि समाजका सबैजनाले हलो नजोत्न उनलाई बारम्बार सुझाव दिए । तर उनले एउटै मात्र जवाफ दिइन्, ‘हलो जोतेकै कारण कार्वाही भोग्नुपर्ने सामाजिक वा धार्मिक कुनै कारण छ भने म त्यही अनुसार सजाय भोग्न तयार छु, तर यो मेरो बाध्यता हो, तपाईहरुले बुझिदिनुस्’

बिर्सनै नसक्ने त्यो क्षण
विषय प्रवेशको सुरुवातमै भावुक देखिन् उनी । २०५६ सालमा घटेको त्यो कुरा उनले आफ्नो जीवनमा कहिल्यै बिर्सन सक्दिनन् । दिदी सुन माया घिसिङ र उनी बिद्यालय जाँदै थिइन् । बीच बाटो पुग्दा नारायण सर (अंग्रेजी शिक्षक) ले अब त पिट्नुहुन्छ, आज अब फर्केर घरमै जाउ, विद्यालय नजाउ भन्ने कुरा भयो । सरले कुट्ने डरले धनामनाको उरालो बाटै उनीरहरु घर फर्किने निधो भयो ।

उनी र काकाकी छोरी माछा मार्न भन्दै मुसिङटार खोला तिर लागिन् । दिदी सुन माया र अर्को काकाकी छोरी बाङ्गे खोला तिर गइन् । उनी र काकाकी छोरी केही समयमै घर फर्किन् । तर दिदि सुनमाया भीरबाट लडेको खबर आयो । उनलाई सम्झना छ, बाहुनडाँडा (ठाउँको नाम) को गोठमा बसेर हजुरआमा र हजुरबाले दिनुभएको खाजा खाँदै थिइन् उनी । यत्तिकैमा हजुरबुवा मेरी नानी भन्दै अँखाबाट आसु झारेर रुनुभयो । हजुरबुवा किन रुनुभयो भन्ने उनलाई त्यतिबेलासम्म पत्तै थिएन ।

‘हे भगवान मेरो नातिनीलाई बचाई दिनुहोस्, भन्दै हजुरबुवा रुनुभयो, पटकपटक उहाँ रोएपछि के भएछ भनेर मैले चासो राखे, पछि थाहा भयो दिदी खोलामा जाँदा लडेर बेहोस् हुनुभएको रहेछ‘ उनले रुँदै भनिन्, ‘सायद त्यो घटना नभएको भए दिदी पनि मजस्तै अरु कुनै निकायमा हुन्थ्यो, त्यही घटनाले दिदीको जीवनमा बज्रपात ल्यायो ।’

त्यतिबेला घटना सम्झिँदै पटकपटक रोएकी घिसिङ दिदीले अहिले त्यही घटनाका कारण प्लस टुभन्दा पढ्न नसकेको बताउँछिन् । सुनमायाको टाउकोबाट त्यतिबेला गिदी पनि निस्किएको थियो । सबैले अब बाँच्दैन भन्दाभन्दै उनको दाइले सुनमायालाई जसरी पनि अस्पताल लैजाने अठोट गरे । ‘मेरो बहिनी मरे पनि बाटोमै मरोस्, नभए म जसरी पनि अस्पताल पु¥याउँछु’ दाइ दावाको भनाई उदृत गर्दै उनले भनिन्, ‘राति तयारी गरेपछि बिहानै दिदीलाई डोकोमा बोकेर सहर ल्याउनुभयो, एक महिनापछि उनी ठीक भएको खबर आयो ।’
उनीभन्दा सुनमाया अध्ययनशिल थिइन् । द्धितिय हुने गरेकी उनकी दिदी त्यो घटनापछि चौथो बनिन् ।

प्रहरी सेवामा फुलमाया प्रहरी सेवामार्फत देशको सेवामा लाग्छु भन्ने उनलाई कहिल्यै लागेन । लोकसेवा परिक्षाको तयारीमा जुटिरहेकी उनलाई एक दिन दाई दावा घिसिङले प्रहरी सहायक निरीक्षकमा आवेदन मागेको जानकारी गराइन् । २०६६ सालको कुरा हो, दाइले फारम भर्न आग्रह गरेपछि उनले भरिन् । तर नाम निकाल्छु र प्रहरी बन्छु भन्ने उनले सोच्दै नसोचेको बताउँछिन् । निजामती सेवामै जागिर खान्छु भन्ने मनसायले उनले लोकसेवा अध्ययन गरिररहेकी थिइन् ।

प्रहरी सहायक निरिक्षकको सामान्य तयारी गरेर परिक्षा दिएकी उनको खुला, आदिवासी जनजाति र महिला गरी तीन ठाउँमा नाम निस्कियो । नाम निस्किएपछि उनलाई दाइले फोन गरे र भने, ‘बधाई बहिनी, तिम्रो ३ ठाउँमा नाम निस्किएको छ ।’ तर दाइको कुरा उनलाई पत्याउन गाह्रो भयो । पछि आफैँले हेरेपछि उनले पत्याइन् । तर नाम निस्किए पनि उनलाई खुसी लागेन किनकी उनको प्राथमिकता प्रहरीमा भन्दा निजामती सेवामै प्रवेश गर्ने भन्ने थियो । मनमा अन्तर्वार्तामा फाल्ने हो कि भन्ने डर पनि थियो । तर उनको नाम अन्तर्वार्ताबाट पनि सिफारिस भयो । अनि ३२ साउन २०६९ मा उनले कालिदेवी निम्न माध्यमिक विद्यालयबाट राजीनामा दिइन् । र औपचारिक रुपमा शिक्षण पेशा छाडिन् ।

२०७० असार २८ गते दिक्षित भएकी उनी पहिलो पटक काभ्रे जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रमा हाजिर भइन् । महिला तथा बालबालिकामाथिको अपराधहरु कति रहेछन्, भन्ने विषयमा नजिकबाट सिक्न पाएको बताउँछिन् उनी । काभ्रेमाविशेषगरी घरेलुु हिंसा बढी हुने गरेको उनको अनुभव छ । धुलिखेलमा बसेर एक वर्ष काम गरेपछि उनी इलाका प्रहरी कार्यालय बनेपामा सरुवा भइन् । बनेपामा एक वर्ष काम गरेपछि फेरि उनी भक्तपुर पुगिन् ।

समयको व्यवस्थापन गरी उनले कामकै सिलसिलामा प्रहरी निरिक्षक पदको तयारी गरिन् । र प्रहरी निरीक्षकमा पनि उनले खुला, महिला र आदिवासी जनजातिमा नाम निकालिन् ।०७४ जेठ ७गते प्रहरी निरिक्षकको औपचारिक जिम्मेवारी सम्हालेकी उनी आफू जहाँ रहे पनि खुसी रहने बताउँछिन् । सकेसम्म राम्रो गर्ने प्रयासमा हरेक समय बिताउने बताउन उनको जीवनको कुनै लक्ष्य छैन । भन्छिन्, ‘म सधैँ राम्रो गर्ने प्रयासमा हुन्छु, तर म पदको हिसाबले यो बन्छु त्यो बन्छु भन्ने लक्ष्य छैन, म जहाँ हुन्छ त्यहाँ खुसी रहन्छु’ उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *